काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का व्यक्त गरे ।
उनले भने, ‘प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो । राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैँले प्रस्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ । सत्तारुढ दलको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन । सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन ।,
सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति असन्तुष्टि व्यक्त गरे।














