आईसीसी विश्वकप लिग–२ : नेपालको शानदार प्रदर्शन, अमेरिका ९ विकेटले पराजित



काठमाडौँ । काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ ।

पहिलो खेलमा स्कटल्याण्डसँग दुई रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकामाथि ९ विकेटको फराकिलो जित हासिल गरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा अलआउट हुँदै १९५ रन बनाउन सक्यो । दोस्रो विकेटका लागि सय रनको साझेदारी गरेर नेपाललाई मुस्किलमा पारेको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउँदा कम योगफलमै समेटियो ।

अमेरिकाका लागि स्मिथ पटेलले ८३ तथा शहान जयसूर्याले ५० रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए ।

जवाफमा नेपालले ३६ ओभर ४ बलमा १ विकेटको क्षतिमा जित हासिल गर्यो । पहिलो विकेटका लागि १४५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले ११८ बलमा अविजित रहँदै १२० रन बनाए ।

त्यस्तै आसिफ शेखले ७२ बलमा ५८ रन बनाए । त्यस्तै इशान पाण्डेले अविजित रहँदै २० रन बनाए ।

प्रकाशित मिति : जेष्ठ २, २०८३ शनिबार  ९ : १३ बजे