काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतिहरुप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गरेकी छिन् ।
आईतवार काठमाडौंको बल्खुस्थित मदननगरमा नेकपा एमालेले आयोजना गरेको ३३ औं मदन आश्रित स्मृति सभामा बोल्दै उनले उक्त कुरा बताएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न पनि आवश्यक रहेको बताइन्।
भण्डारीले भनिन्,‘विगतमा उपलब्धिहरुसँगै वर्तमानका चुनौतिहरुप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुुलनका कारण समाजमा प्रश्नहरु उठने गरेका छन् । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र जनताबीच दूरी बढयो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ । त्यसैले हामीले जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्दछ । राजनीति जनसेवा र समाज रुपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले हामी क्रियाशील हुनुपर्दछ । आज मदन आश्रितको स्मृतिको अवसरमा हामीेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्ध सुदृढिकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढने प्रेरणा लिनुपर्दछ ।’
उनले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरु उठने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।














