काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठककको आकस्मिक, शुन्य तथा विशेष समयमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सो कुरा बताएका हून् ।
‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्णप्रतिवद्ध छ। यो कोही व्यक्तिले, सरकारको कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षति छ’, तिमिल्सिनाले भने ‘आज, भोलि र पर्सी यो अधिकार कसैले हनन् गर्न सक्दैन।’
मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसलाई सरकार वा कसैले पनि चाहेर हनन गर्न नसक्ने तर्क समेत गरे । उनले प्रेस स्वतन्त्रतासँगै जवाफदेहीता पनि हुने भएकाले पत्रकारहरुले सो कुरालाई मनन गरेर अघि बढन आवश्यक रहेको पनि बताए।
मन्त्री तिमिल्सिनाले पत्रकारहरुले संवैधानिक अधिकार, आफनो गरिमा र सीमाभित्र रहेर काम गर्नुपर्ने पनि बताए ।














