काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हून् ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उनले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताए ।“अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भने ।गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए । “यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ”, राष्ट्रपतिले भने ।
राष्ट्रपति पौडेलले नेपाली जनताले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रलाई बलियो बनाउनुपर्ने बताए ।
मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै उनले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढाएकोमा खुशी व्यक्त गरे ।














