काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षभित्र मुलुकमा भ्र्रष्टाचार निर्मूल पार्ने काममा लागिपर्ने बताएका हून् ।
उनले भने,‘हामीले पहिलो वर्षलाई सुशासनको वर्षको रुपमा लिएका छौँ । सुशासन भन्दैमा हामीले विकास नै गर्दैनौ, पूर्वाधारको काम नै गर्दैनौ भन्ने होइन । यो वर्षलाई पूरा हाम्रो माननीय मन्त्रीज्यूहरु र विभिन्न क्षेत्रबाट आउनुभएका माननीयज्यूहरु उहाँहरुको निगरानीमा पनि विभिन्न क्षेत्रहरु हुन्छन । हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले यो पहिलो वर्ष पूर्ण रुपमा देशलाई सुशासनतर्फ लैजाने, बेथितिहरुलाई हटाउने, बलियो जरा बनाएर बसेको यो भ्रष्टाचारलाई निर्मूल गर्न नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ । यो मालपोतलगायतका सरकारी कार्यालयमा जाँदा देख्नु पनि भएको होला । यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ ।’
उनले सरकारले यस वर्षलाई सुशासन वर्षको रुपमा लिएको पनि बताए । प्रधानमन्त्री साहले सुशासन प्रवद्र्धनका लागि विभिन्न मन्त्रालयले मातहतका निकायमा निगरानीका साथ काम गरिरहेको बताए।














