काठमाडौं,१८ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक बताएका छन्।
सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा नकारात्मक असर पारेको टिप्पणी गरे।
“सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्,’ थापाले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ ।”
छिमेकीसँग कूटनीतिक माध्यमबाट हल गर्न सक्ने सम्भावनालाई क्षीण बनाएको उनको भनाइ छ । “प्रधानमन्त्रीजीले नबुझिकन बोल्नुभएको हो भने चिन्ताजनक छ,” थापाले भने, “धेरै बुझेर बोल्नुभएको भए खतरनाक छ ।”
प्रधानमन्त्रीलाई संसद्मा गएर उभिन र नजानेर बोलेको भनेर माफी माग्न उनले आग्रह गरे ।














