काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठन गरिएको समितिको म्याद पाँच दिन थप गरिएको छ।
समितिको प्रारम्भिक म्याद सोमबार सकिएको थियो। थप समय आवश्यक परेको भन्दै समितिले सरकारसँग म्याद विस्तारका लागि अनुरोध गरेपछि आजदेखि लागू हुने गरी पाँच दिन म्याद थप गरिएको हो।
छानबिन समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार बाँकी काम सम्पन्न गरी निर्धारित समयमै प्रतिवेदन बुझाइनेछ।
समितिले गत साता नै पूर्वगृहमन्त्री गुरुङको बयान लिइसकेको छ भने विभिन्न निकायबाट आवश्यक प्रमाणहरू संकलन गर्ने काम जारी रहेको जनाएको छ। केही निकायबाट थप विवरण माग गरिए पनि सबै कागजात भने अझै प्राप्त भइसकेका छैनन्।














