एसीसी महिला प्रिमियर कपः नेपालले भुटानलाई ५१ रनले हरायो



काठमाडौं । एसीसी महिला प्रिमियर कप अन्तरगतको म्याचमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ ।

नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोड्न सक्यो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७ रनमा ७ विकेट गुमाएको थियो ।

अनुभवी जोडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेपछि नेपाल सम्हालियो । सीताले २८ बलमा ३७ रन बनाएर नेपाललाई उकासेकी थिइन् ।

रुबिनाले २१ बलमा २४ रन जोडेर आउट भइन् । जवाफी ब्याटिङमा भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरिन् ।

अन्यले उल्लेख्य रन बनाउन सकेनन् । नेपालका लागि रुबिनाले १५ रन खर्चेर तीन विकेट लिइन् ।

रिया शर्माले २० रन खर्चेर २ विकेट हासिल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  १० : ५२ बजे