काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसिया कपका लागि छनोट हुन असफल भएको छ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
बिहान भएको खेलमा नेपाल ५६ रनले पराजित भयो। थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै केवल ७४ रन मात्र बनाउन सक्यो।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २० रनको अविजित इनिङ्स खेलिन्। सोनी पाख्रिनले १५, सीता रानामगरले १२ र सम्झना खड्काले ११ रन जोडे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
थाइल्यान्डका बलर थिपात्चा पुथावङले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए भने अन्य बलरहरूले पनि नेपालको ब्याटिङलाई दबाबमा राखे।त्यसअघि थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १–१ विकेट लिएका थिए।
यो हारसँगै नेपाली महिला टोली पछिल्ला केही प्रतियोगितामा लगातार असफल हुँदै आएको छ। केही दिनअघि मात्रै एसियन गेम्स छनोटमा पनि नेपाल निर्णायक खेलमा चीनसँग पराजित भएको थियो।














