काठमाडौँ, जेठ ३१ । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।
२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन ।
स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे ।
समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अङ्कका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अङ्कका साथ दोस्रो स्थानमा छ ।
त्यस्तै, समान एक अङ्क नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ । अङ्कविहीन रहेको हाइटी चौथो स्थानमा छ ।
विश्वकपअन्तर्गत आजै समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल अहिले बिहान ९ः४५ बजेदेखि सुरु हुनेछ । आज हुने अर्को समूह ‘इ’ को खेलमा जर्मनी र कुराकाओबीच भिडन्त हुनेछ । उक्त खेल राति १०ः४५ बजे हुनेछ । रासस














