काठमाडौ्र । अमेरिका र इरानले आफूहरूबीच जारी युद्ध अन्त्य गर्ने सहमति भएको घोषणा गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता भएको बताएका छन्। उनका अनुसार लेबननसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ। सम्झौतामा आगामी शुक्रवार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने सहमति बनेको पनि शरिफले बताएका छन ।
इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन्।
सम्झौतामा लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी रूपमा शत्रुतापूर्ण गतिविधि रोक्ने, ३० दिनभित्र नौसैनिक नाकाबन्दी हटाउने, इरानको आसपासबाट अमेरिकी सैन्य उपस्थितिलाई फिर्ता गर्ने तथा होर्मुज जलमार्ग पुनः खोल्ने विषय रहेका छन् ।
मस्यौदामा कच्चा तेल बिक्रीमाथिका प्रतिबन्धहरू हटाउने, सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र आणविक मुद्दामा अन्तिम सहमति खोज्ने तथा वार्ताको अवधिमा रोक्का गरिएको २४ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्ने उल्लेख छ ।
अमेरिका र इरानबिच भएको शान्ति सम्झौतालाइ विश्वभरबाट समर्थन ब्यक्त भएको छ । सहमति भएको घोषणा भएसँगै एशियाली शेअर बजारमा कारोबार बढेको छ भने तेलको मूल्य घटेको छ।
शान्ति सम्झौताबारे ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेर अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूका साथ मिलेर ‘अवसरको पूरा लाभ उठाउन’ का लागि काम गर्ने बताएका छन् ।
ई–४ समूहको नामले चिनिने देशहरूले भनेका छन्, ‘हामी यो कूटनीतिक सफलताका लागि अमेरिका, इरानी सरकार र यसमा सहभागी सबै पक्षलाई बधाई दिन्छौं । जसमा पाकिस्तान, कतार र अन्य सबै मध्यस्थकर्ता सामेल छन् ।’














