सुकुम्वासीलाई पुनर्वासको व्यवस्था गर्न हर्क साम्पाङको माग



काठमाडौं, असार ३ ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनले उनीहरुलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

अध्यक्ष राईले भने, ‘प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ । र उहाँले आफनो कर्तव्यबोध गरेर संसदमा आएर हाम्रो केही प्रश्नहरुका उत्तर पनि दिनुहुनेछ । अर्को कुरा उहाँकै निर्देशनमा भन्ने हामीलाई जानकारी छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरुलाई बेघरबार बनाउनु भयो । बेहाल स्थिति छ । र अहिले कीर्तिपुरलगायतका राखिएका होल्डिङ सेन्टरहरुमा खाना, पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरु नै हुुनुहुन्छ पक्कै पनि । मैले उहाँहरुले आन्दोलन गरिरहेका दृष्य हामीले देखिरहेका छौँ ।’

उनले संसदको ‘सेकेन्ड लट’ सुरु गर्ने समय पनि भइसकेको उल्लेख गर्दै सरकारको ध्यान सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यातर्फ जानुपर्ने बताए ।

सांसद साम्पाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरू नेपाली नागरिक नै भएकाले उनीहरूको आधारभूत आवश्यकताको व्यवस्थापन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : असार ३, २०८३ बुधबार  ११ : ४५ बजे