विश्वकप फुटबल २०२६: उज्बेकिस्तानमाथि कोलम्बियाको विजयी सुरुआत



काठमाडौं। कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा सुखद सुरुआत गरेको छ।

मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा सम्पन्न समूह ‘के’ को रोमाञ्चक खेलमा कोलम्बियालाई जित दिलाउन डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले समान एक-एक गोल गरे। विश्वकपमा पहिलो पटक डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

प्रतिस्पर्धात्मक खेलको ४०औँ मिनेटमा डानिएल मुनोजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले स्टार खेलाडी लुइस डियाजको उत्कृष्ट पासलाई उत्कृष्ट वान(टच फिनिसिङमार्फत जाली चुमाएका थिए।

पहिलो हाफमा एक गोलले पछि परेको उज्बेकिस्तानले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै खेलको ६०औँ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उज्बेकिस्तानका अब्बोसबेक फेजुल्लाएभले गरेको उक्त गोल देशकै लागि विश्वकप इतिहासमा पहिलो ऐतिहासिक गोल बन्न सफल भयो।

उज्बेकिस्तानले खेललाई बराबरीमा ल्याएर दबाब बढाए पनि कोलम्बियाले तुरुन्तै खेलमा पुनरागमन गर्‍यो। बराबरी गोल भएको केही समयभित्रै अग्रपंक्तिका खेलाडी लुइस डियाजले आकर्षक गोल गर्दै कोलम्बियालाई पुनः २(१ को अग्रता दिलाए।

खेलको अन्तिम समयतिर उज्बेकिस्तानले बराबरीका लागि निकै प्रयास गरे पनि इन्जुरी समयको नवौँ मिनेटमा कोलम्बियाका जामिन्टन क्याम्पाजले गोल थपेपछि कोलम्बियाको ३-१ को जित सुनिश्चित भयो। यस महत्त्वपूर्ण जितसँगै कोलम्बियाले समूह ‘के’ मा स्पष्ट ३ अंक जोड्दै तालिकाको शीर्ष स्थान हासिल गरेको छ।

प्रकाशित मिति : असार ४, २०८३ बिहीबार  १० : ५६ बजे