काठमाडौं । विश्वकप फुटबलमा समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा क्यानडाले कतारमाथि गोल वर्षा गरेको छ। पहिलो खेलमा स्विटजरल्यान्डलाई १-१ गोलको बराबरीमा रोकेर तहल्का मचाएको कतार दोस्रो खेलमा भने एकपछि अर्को गोल खान पुगेको थियो।
क्यानडाको फराकिलो जितमा जोनाथन डेभिडले ह्याट्रिक पुरा गरेका थिए। कतारमाथि ६-० को जित क्यानडाको फिफा विश्वकपमा पहिलो जित हो।
तर यो ऐतिहासिक जितसँगै क्यानडा आफ्ना स्टार खेलाडी इस्माइल कोनेको गम्भीर देखिएको चोटका कारण चिन्तित बनेको छ। चोट लागेपछि क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्स भावुक हुँदै आँसु झारेका थिए। भ्यानकुभरमा भएको खेलमा क्यानडा पहिलो हाफमै ३-० ले अगाडि थियो र कतार १० खेलाडीमा सीमित भइसकेको थियो।
त्यसक्रममा कतारका आसिम ओमर मादिबो र कोने बलका लागि भिड्दा दुवै ठोक्किएका थिए। घटनापछि खेल लामो समय रोकिएको थियो र कोनेलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो। मादिबोलाई सुरुमा पहेंलो कार्ड देखाइएको थियो। तर भिडियो सहायक रेफ्री ‘भिएआर’ को हस्तक्षेपपछि त्यसलाई रातो कार्डमा परिवर्तन गरियो।
यो जितसँगै क्यानडा नकआउट चरण नजिक पुगेको छ। तर कोनेको चोटले अन्तिम ३२ भन्दा अगाडि पुग्ने उसको सम्भावनामा ठूलो धक्का पुर्याएको छ। कोनेको चोटले ओझेलमा पारे पनि यो खेल क्यानडाका लागि ऐतिहासिक बन्यो।
१६औँ मिनेटमा साइल लारिनले नजिकबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो उनको लगातार दोस्रो खेलमा दोस्रो गोल थियो। त्यसको १३ मिनेटपछि जोनाथन डेभिडले आफ्नो ह्याट्रिकको पहिलो गोल गरे। ३३औँ मिनेटमा ताजोन बुचाननलाई रोक्न व्यावसायिक फाउल गरेपछि कतारका होमाम एल अमिनलाई रातो कार्ड देखाइयो र कतार नौ खेलाडीमा झर्यो। पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै क्यानडाको अग्रता ४-० पुर्याए ।
दोस्रो हाफमा कोनेको चोटले खेलको माहोल बदलिदिएको थियो। ६३औँ मिनेटमा नाथन सालिबाले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै स्कोर ४(० बनाएपछि उनले घाइते कोनेको जर्सी उठाएर देखाए। दर्शकहरूले त्यसको भव्य स्वागत गरेका थिए। खेल सकिन १५ मिनेट बाँकी रहँदा जेकब शाफेलबर्गको प्रहारलाई कतारका मोहम्मद अल मन्नाइले आफ्नै पोस्टमा छिराएपछि क्यानडाले पाँचौँ गोल थप्यो।
इन्जुरी समयमा बुचाननको प्रयासमा आएको बललाई जोनाथन डेभिडले नियन्त्रणमा लिएर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र क्यानडाको ६-० को शानदार जित सुनिश्चित गरे। छ गोलको फराकिलो जितसँगै क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। उसको स्विट्जरल्यान्डसँग समान अंक भए पनि गोल अन्तर तीनले राम्रो रहेको छ।














