राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङ विरुद्ध आयोगमा निवेदन दर्ता गरिएको हो ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा जेठ १७ गते नेपालले पनि भारतको जमिन मिचेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि जेठ १९ गते लैनचौरस्थित भारतीय दूतावासअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग रहेको र सीमा समस्याको विषयमा भारतीय ज्यादतीको अन्त्य हुनुपर्ने माग गर्दै प्रदर्शन गर्नेक्रममा उनीहरू पक्राउ परेका थिए। पक्राउ परेको आधा घण्टापछि गुरुङ सोह्रखुट्टे प्रहरी वृत्तमा पुगेर ज्यानमार्ने धम्की दिएको उजुरी पत्रमा उल्लेख छ।

तीन युवाले उजुरी दिँदै स्थलगत अनुगमन र बयान लिन, प्रहरी कार्यालयको सिसिटीभी फुटेजलगायतको संरक्षण गर्न र दोषीमाथि कारबाही सिफारिस गर्न माग गरेका छन्।

प्रकाशित मिति : असार ८, २०८३ सोमबार  ४ : ३० बजे