विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति



काठमाडौँस् सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले ७ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई राति नै सडक मार्गबाट काठमाडौँ ल्याएर मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हुँदै विशेष अदालतमा उपस्थित गराइएको थियो।

अनुसन्धानका लागि म्याद थपको मागसहित पेस गरिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पहिलो पटक ७ दिनको म्याद थप गरेको हो।

विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आवश्यक अनुसन्धानका लागि म्याद थप गर्ने आदेश दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

प्रकाशित मिति : असार ९, २०८३ मंगलबार  ८ : ३८ बजे