गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्न रवि लामिछानेलाई मनीष झाको आग्रह



काठमाडौँ । राष्ट्रिय स्‍वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीका उम्मेदवार मनिष झाले गुटगत राजनीति गर्नेलाई कारबाही गर्न पार्टी सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्।

चितवनमा जारी महाधिवेशनमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संस्थापनपक्ष एकजुट भएको भन्दै गुटगत राजनीति गर्नेलाई कारबाही गर्न माग गरेका हुन्।

उनले लोकतान्त्रिक प्रक्रियामा उम्मेदवारबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि संस्थापन पक्षबाट समूह बनाएर गरिएको अभ्यास पार्टी नेतृत्वकै भनाइविपरीत रहेको बताए।

झाले भने, “जे गर्नु हुँदैन भनेर भनिएको थियो, त्यही भइरहेको देखियो। डेमोक्रेटिक प्रोसेसमा समूहगत अभ्यास हुनु हाम्रो नेताकै अभिव्यक्तिविपरीत हो।”

उनले सभापति लामिछानेलाई लक्षित गर्दै, “यदि संस्थापन पक्ष एकजुट भएर गुटबन्दी गरिएको हो भने, यस्तो प्रयास गर्नेहरूलाई कारबाही गर्नुस्,” भन्ने आग्रह समेत गरे।

प्रकाशित मिति : असार १२, २०८३ शुक्रबार  ३ : २६ बजे