काठमाडौं । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा कुनै अनियमितता भएको पुष्टि भए दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले पासपोर्ट छपाइ खरिद प्रक्रियासम्बन्धी सार्वजनिक भएका घटनाक्रमले देशमा सुशासन र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको बताए।
उनले नेपाली कांग्रेस निष्पक्ष र कानुनसम्मत छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै आफ्नै पार्टीका नेता वा पूर्वमन्त्री संलग्न देखिए पनि कानुनअनुसार कारबाही हुनुपर्ने धारणा राखे।
सांसद बुढाले पासपोर्ट छपाइ खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको बताए । ‘पासपोर्ट छपाइमा जो कोही भए पनि, चाहे हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्छ। निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ,’ बुढाले भने ।














