काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोण झन् संकुचित बन्दै गएको आरोप लगाएकी छन्।
आइतबार ललितपुरमा महासंघद्वारा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता स् सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि व्यवहारमा प्रेस स्वतन्त्रता खुम्चिँदै गएको महसुस भएको बताइन्।
उनले वर्तमान सरकारले सय दिन पूरा गरिसकेको अवस्थामा सञ्चार क्षेत्रप्रति सकारात्मक परिवर्तन देखिनुपर्ने अपेक्षा भए पनि सरकारको दृष्टिकोण थप संकुचित भएको अनुभव महासंघले गरेको बताइन्। पत्रकारहरूको सूचनामा पहुँच सीमित बन्दै गएको भन्दै उनले त्यसका कारण सरकारका नीति तथा निर्णयबारे जानकारी प्राप्त गर्नसमेत कठिनाइ भइरहेको उल्लेख गरिन्।
अध्यक्ष शर्माले सिंहदरबारभित्र मन्त्रालयसम्म पत्रकार पुग्न सक्ने अवस्था रहे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म समेत प्रवेश गर्न नपाइने अवस्था रहेको बताउनुभयो। त्यस्तै, संसदीय समितिहरूमा पनि पत्रकारहरूले सहज रूपमा प्रवेश गर्न नसक्ने अवस्था रहेको भन्दै यसले सूचना प्रवाहमा अवरोध सिर्जना गरेको धारणा राखिन्।














