संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो



काठमाडौं । नेकपा (एमाले) संविधान संशोधनसम्बन्धी बहसका लागि सरकारले गठन गरेको कार्यदलबाट बाहिरिएको छ ।

बिहीबार एमालेका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी दिएका हुन्।

एमालेका तर्फबाट कार्यदलमा भीष्म अधिकारी सदस्य थिए। प्रारम्भिक चरणमा सहभागी भए पनि पछिल्लो समय उनी कार्यदलमा अनुपस्थित रहँदै आएका थिए।संविधान संशोधनका विषयमा सरकारको स्पष्ट धारणा नआएकाले कार्यदलबाट बाहिरिने निर्णय गरेको एमालेले जनाएको छ । वर्तमान संविधानका आधारभूत विषयलाई सुदृढ बनाउने र विगतका कमजोरी सुधार गर्ने उद्देश्यसहित संशोधनप्रति पार्टी सकारात्मक रहेको पत्रमा उल्लेख छ ।

तर, कार्यदलको उद्देश्य र काम(कारबाहीप्रति प्रश्न उठाउँदै एमालेले संविधानका आधारभूत संरचना, संघीय लोकतान्त्रिक गणतन्त्र र संशोधनका विषयमा सरकारको दृष्टिकोण स्पष्ट नभएको आरोप लगाएको छ ।

यसअघि नेकपा, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू पनि कार्यदलबाट बाहिरिइसकेका छन् ।

प्रकाशित मिति : असार २५, २०८३ बिहीबार  १२ : ५८ बजे