काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेकी छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक जना युवाले पेट्रोल छर्केर आत्मादाह गर्दा पनि किन मौनता साँधेको ? भनेर प्रधानमन्त्री साहलाई प्रश्न पनि गरिन् ।
प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण नेपालीले आफनो शरीरमा आगो लगाउँदा पनि उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था नगरेर सरकारले अपराधिको जस्तो व्यवहार गरेको आरोप समेत लगाइन् ।
एउटा नागरिकले आफनो शरीरमा आफैँले आगो लगाउनुपर्ने हृदयविदारक घटना घट्दा पनि सरकार गम्भिर नभएको प्रमुख सचेतक थापाले गुनासो गरिन् ।
उनले भनिन्, “प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किन? विपक्षमा हुँदा राज्यका कमजोरीमाथि कठोर प्रश्न उठाउने तपाईं आज सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन पछि हट्नुभएको हो?”
थापाले आगोले शरीर जलेर छटपटाइरहेका व्यक्तिलाई समयमै उद्धार नगरी प्रहरी प्रशासनमार्फत घिसारेर लगिएको आरोप लगाउँदै, “यो उद्धार हो कि गिरफ्तारी? उनले कसको विरुद्ध के अपराध गरेका थिए?” भन्दै सरकारसँग जवाफ मागिन्।














