बेलिङ्घम चम्किँदा नर्वेलाई हराउँदै इङ्गल्यान्ड सेमिफाइनलमा



काठमाडौं । स्टार मिडफिल्डर जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनको मद्दतले इङ्गल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा इङ्गल्यान्डले बलियो प्रतिद्वन्द्वी नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्‍यो। खेलमा सुरुवाती अग्रता भने नर्वेले लिएको थियो।

३६औं मिनेटमा एन्ड्रियास स्जेलडेरुपले उत्कृष्ट गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्यान्डलाई १–१ को बराबरीमा ल्याए।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समय सुरु भएको तेस्रो मिनेट ९९३औं मिनेट० मा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्यान्डको जित सुनिश्चित गरे।

म्याच विनर बनेका बेलिङ्घमको यस विश्वकपमा गोल संख्या ६ पुगेको छ। नर्वेका मुख्य स्ट्राइकर एर्लिङ हालान्डलाई इङ्गल्यान्डको डिफेन्सले निकै दबाबमा राखेको थियो।

खेलको ५६औं मिनेटमा नर्वेका टोर्बजोर्न हेग्गेमले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले हालान्डले फाउल गरेको भन्दै त्यस गोललाई मान्यता दिएन।

सन् २०१८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको इङ्गल्यान्डले अब फाइनल प्रवेशका लागि अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : असार २८, २०८३ आईतबार  ८ : ०७ बजे