काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा मात्र केन्द्रित हुँदा मुलुक विकासको सट्टा बर्बादीको दिशामा गइरहेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिका बारेमा सरकारले संसद्मा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हून्।
राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएको गम्भीर विषयमा सरकार मौन बस्नु सान्दर्भिक नहुने तर्क गर्दै उनले सरकारको आधिकारिक धारणा नआएसम्म प्रतिपक्षको विरोध जारी रहने जानकारी दिए ।
‘जनताले भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय खोजेका छन्,’ उनले भने, ‘तर आज हाम्रा मूल मुद्दाहरू ओझेलमा परेर सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा ध्यान केन्द्रित भएको छ। यस्ता गतिविधिले देश बन्दैन, बरु बर्बादीको दिशामा लैजान्छ।’
सांसद शाहीले नेपाली जनताको मुख्य चाहना भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय रहेको उल्लेख गर्दै वर्तमान सरकार ती मुद्दाहरूबाट विचलित भएको आरोप लगाए ।














