काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा (एमाले)सँगको सहकार्य अन्त्य गर्ने तयारी गरेको छ।
प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो ।
पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो ।
‘हाम्रा सातवटै प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौं,’ कांग्रेसका एक पदाधिकारीले भने । आजमात्रै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो ।














