काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र विकास निर्माण प्रक्रियामा प्रकृति र मानवलाई मुख्य केन्द्रविन्दुमा राखिनुपर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको हरेक अवधारणा जनताको हित र मुलुकको समृद्धिसँग जोडिनुपर्ने धारणा व्यक्त गरे ।
समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने, “विकास निर्माणका क्रममा हाम्रा इतिहास, भूगोल, संस्कृति र जातीय बनोट जस्ता विविधतालाई भुल्नु हुँदैन । नयाँ पुस्ताको आकाङ्क्षाअनुसार उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई पनि तीव्ररूपमा अघि बढाउनु आजको आवश्यकता हो ।”
भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतमा धनी नेपालका लागि दिगो र पर्यावरणमैत्री पूर्वाधार अपरिहार्य रहेको चर्चा गर्दै उनले जलवायु परिवर्तनको बढ्दो चुनौतीप्रति चासो व्यक्त गरे । उनले हाम्रा सडक, पुल र जलविद्युत् जस्ता भौतिक संरचनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्ने र समग्र विकास प्रक्रिया ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्नेमा जोड दिए ।
यसैगरी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेका उद्देश्यहरू पूरा गर्न यसका सुन्दर पक्षलाई आदर्शमा मात्र सीमित नराखी व्यवहार र आचरणमा उतार्नुपर्ने उनको भनाइ थियो ।
दक्ष युवा इन्जिनियरहरू रोजगारी र अवसरको खोजीमा विदेसिने क्रम बढ्नु देशका लागि चिन्ताको विषय भएको राष्ट्रपति पौडेलले उल्लेख गरे । “देशको भविष्य युवाहरूको सोच र क्षमतामा निर्भर गर्दछ,” उनले भने, “म सरकार र निजी क्षेत्र दुवैलाई हाम्रा युवा इन्जिनियर तथा आर्किटेक्टहरूका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण निर्माण गर्न विशेष आग्रह गर्दछु ।”














