काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवर्द्धन, उत्पादन र निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
बिहीवार सिंहदरबारमा नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँगको छलफलका क्रममा प्रधानमन्त्री साहले जैविक कृषि उत्पादनको प्रवर्द्धन र विस्तारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल अग्र्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले जानकारी दिए।
अध्यक्ष बास्कोटाका अनुसार छलफलमा जैविक कृषि प्रवर्द्धनका लागि जैविक मलमा अनुदान उपलब्ध गराउनुपर्ने, अग्र्यानिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सहज बनाउनुपर्ने तथा निर्यातमा दिइँदै आएको अनुदान पुनः उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूले राखेका थिए । माग सम्बोधन गर्न प्रधानमन्त्री साह सकारात्मक देखिनुभएको र आवश्यक प्रक्रिया अघि बढाउन सचिवालयलाई निर्देशनसमेत दिएको उनले बताए ।
अध्यक्ष बास्कोटाले अग्र्यानिक चियाको उत्पादन तथा निर्यातमा देखिएका चुनौती र नीतिगत सुधारको आवश्यकताबारे प्रधानमन्त्रीसमक्ष लिखित सुझावसमेत पेस गरिएको जानकारी दिए। जवाफमा प्रधानमन्त्री साहले अग्र्यानिक चियाको अन्तर्राष्ट्रिय बजार पर्याप्त रहेकाले उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्ने गरी सरकारले काम गर्ने बताउनुभएको उनले उल्लेख गरे ।
हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनालीले रासायनिक मलसरह जैविक मलमा पनि अनुदान उपलब्ध गराउनुपर्ने माग राखिएको बताए । अग्र्यानिक प्रमाणीकरण प्रक्रिया निकै खर्चिलो रहेको भन्दै उनले त्यसमा अनुदानको व्यवस्था गर्नुपर्ने, रोकिएको निर्यात अनुदान पुनः उपलब्ध गराउनुपर्ने तथा नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त जैविक प्रमाणीकरण संस्था स्थापना गर्नुपर्ने माग राखिएको जानकारी दिए ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण सेवा उपलब्ध नहुँदा भारत, अमेरिका, जर्मनी र अस्ट्रेलियालगायतका मुलुकबाट प्रमाणीकरण गराउनुपर्ने अवस्था रहेको र यसले व्यवसायीलाई थप आर्थिक भार परेको उनले बताए । समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रधानमन्त्री साहले निर्देशन दिएको उनको भनाइ छ ।
त्यस्तै, गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाईंले नेपाली अग्र्यानिक चियाले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिष्ठा कायम राख्दै आए पनि विगतमा सरकारले आवश्यक सहयोग नगरेको गुनासो गरे । सरकारले उत्पादनको परिणामभन्दा लगानी र खर्चलाई बढी प्राथमिकता दिने गरेको उनको भनाइ थियो ।
उन्ले गोर्खा टी स्टेटबाट आफूले विभिन्न मुलुकमा चिया निर्यात गर्दै आएको उल्लेख गर्दै नेपाल प्राकृतिक तथा जैविक उत्पादनका लागि सम्भावनायुक्त मुलुक भएकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन सरकारले सहयोग गर्नुपर्ने बताए ।
छलफलपछि व्यवसायीहरूले प्रधानमन्त्री साहसँगको भेटले आफूहरूमा सकारात्मक ऊर्जा थपिएको बताएका छन् । नेपालको प्राकृतिक तथा जैविक उत्पादनलाई विश्व बजारमा पुर्याउन सरकारले आवश्यक सहयोग गर्ने विश्वाससमेत उनीहरूले व्यक्त गरेका छन् ।














