सोनम वाङ्चुकले तोडे अनशन, भारतका युवाहरुको शान्तिपूर्ण विरोध भने जारी



काठमाडौं । भारतका अभियानकर्मी सोनम वाङ्चुकले शिक्षामा सुधारको माग गर्दै युवाहरूले थालेको आन्दोलनको समर्थनमा गत २६ दिनदेखि बस्दै आएको अनशन गएराति तोडेका छन्।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वाङ्चुकले विभिन्न सर्तहरूबारे भएका लामा छलफल अनि देशमा सम्भावित हिंसा रोक्न आफूले अनशन तोडेको लेखेका छन्।

५९ वर्षीय वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै आएको कक्रोच जनता पार्टीको समर्थनमा भोक हडताल थालेका थिए।

यसअघि वाङ्चुकले अनशनका कारण आफ्नो ११ किलोग्राम वजन घटेको तर जीवितै रहेको बताएका थिए।

गत शनिवार उनलाई दिल्लीस्थित अनशन स्थलबाट जबरजस्ती हटाएर अस्पताल लगिएको थियो।

एनडीटीभी वेबसाइटका अनुसार सरकारले जन्तर मन्तरमा विरोध र्‍याली गरिरहेकाहरूविरुद्ध कुनै कानुनी कारबाही नगर्ने विषयमा आश्वस्त पारेपछि भारतमा चिरपरिचित वाङ्चुकले अनशन तोडेका थिए।

उनलाई अस्पतालमा मन्त्रीहरू पुगेर भेटेका थिए।

वाङ्चुकले अनशन तोड्ने निर्णय गरेपछि त्यसबारे कक्रोच जनता पार्टीका नेताले प्रतिक्रिया दिएका छन्।

सीजेपीका संस्थापक अभिजित दिप्केले एक्समा लेखेका छन् २६ दिनपछि सोनम सरले अनशन तोड्नु भएकामा हामीलाई राहत मिलेको छ र अनुगृहीत छौँ तर उनले भनेका छन् शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म जन्तर मन्तरमा कक्रोच जनता पार्टीको शान्तिपूर्ण विरोध जारी रहने छ।

सोमवार संसद्तर्फ मार्च गर्ने क्रममा भएको प्रहरी दमनपश्चात् पनि भारतको राजधानीमा अझै ठूला प्रदर्शन रोकिएका छैनन्। प्रदर्शनका क्रममा कैयन् प्रदर्शनकारी तथा प्रहरी अधिकारी घाइते भएका छन्।

अब सीजेपी भारतको सबभन्दा परिचित युवा आन्दोलन बनेको छ।

सन् २०१४ देखि सत्तामा रहेको नरेन्द्र मोदी नेतृत्वको सरकारका विरुद्ध भएको यो सबभन्दा ठूलोमध्येको सार्वजनिक विरोध आन्दोलन हो।

प्रकाशित मिति : श्रावण ८, २०८३ शुक्रबार  १० : ५० बजे