काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले पछिल्लो समय देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावलाई संवाद र सहकार्यबाट समाधान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
शुक्रबार जारी सन्देशमा उनले शान्ति नै सुख र खुसीको आधार भएको उल्लेख गर्दै एकले अर्काको सम्मान गरे मात्रै देशमा दिगो शान्ति स्थापना हुने बताएका छन्। उनले विगतका तिता घटनालाई बिर्सेर मीठा सम्झना र सुन्दर भविष्यको लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिए।
साम्पाङले नेपाल सबै नेपालीको साझा देश भएकाले सबै धर्मावलम्बी नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने बताए। त्यसका लागि विभिन्न धर्म र धार्मिक आस्थाबीच उच्च सहिष्णुता र पारस्परिक सम्मान आवश्यक रहेको उनको भनाइ छ।
श्रम संस्कृति पार्टीले सबै धर्मप्रति समान सम्मानभाव राख्ने उल्लेख गर्दै कुनै पनि धर्मलाई नजिक वा टाढाको दृष्टिले नहेर्ने स्पष्ट पारेको छ।
देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक द्वन्द्व अन्त्यका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सबै सरोकारवालाले सकारात्मक मनस्थिति र प्रतिबद्धतासहित संवाद तथा सहकार्यमार्फत निकास खोज्नुपर्नेमा उनले जोड दिएका छन्। शान्ति र सुव्यवस्था कायम गर्न सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्ने पनि उनको भनाइ छ।
साथै, साम्पाङले वर्तमान परिस्थितिलाई थप बिगार्ने खालका अभिव्यक्ति वा गतिविधि कुनै पनि माध्यमबाट नगर्न सबैमा हार्दिक अनुरोध गरेका छन्।














