चार दिनको गिरावटपछि सम्हालियो शेयर बजार, शुक्रबार दोहोरो अंकको वृद्धि



काठमाडौँ। लगातार चार कारोबार दिनसम्म ओरालो लागेर सुस्त बनेको नेपाली शेयर बजारमा शुक्रबार भने सुधारको संकेत देखिएको छ। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लाग्दै बजार बन्द भएको हो।

लगातार घटिरहेको बजारमा दोहोरो अंकको सुधार र कारोबार रकममा आएको वृद्धिले लगानीकर्तामा पुनः उत्साह थपेको विश्लेषण गरिएको छ।

शुक्रबार नेप्से परिसूचक १२.९६ अंकको वृद्धिसँगै २ हजार ६ सय ८५ दशमलव ५४ बिन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकम र कित्तामा पनि अघिल्लो दिनको तुलनामा उल्लेखनीय सुधार दर्ता भएको छ।

शुक्रबार कुल ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको ८८ लाख ४१ हजार ८ सय ९ कित्ता शेयर किनबेच भएका छन्। यसअघि बिहीबार ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको ७५ लाख ४८ हजार ५ सय ९१ कित्ता शेयर कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम र कित्ता दुवैमा वृद्धि देखिएको छ।

आज कारोबारमा आएका कुल कम्पनीमध्ये १८० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी १३ वटा कम्पनीको सेयर मूल्य भने अपरिवर्तित (स्थिर) रहेको नेप्सेले जनाएको छ।

शुक्रबारको बजारमा रिडी पावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। उक्त कम्पनीको सर्वाधिक १७ करोड २६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो।


प्रकाशित मिति : श्रावण १५, २०८३ शुक्रबार  ५ : ०४ बजे