राजनीतिको मूल उद्देश्य सत्ता होइन सेवा हुनुपर्छ : गगन थापा



काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट मुक्त गर्दै जनसेवा र मानव सेवाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले पछिल्लो समय राजनीतिमा पद र शक्तिप्रतिको मोह बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले राजनीतिभन्दा ठूलो सार्वजनिक सेवा अरू कुनै हुन नसक्ने उल्लेख गर्दै सत्ता र शक्तिलाई लक्ष्य होइन, नागरिक सेवाको साधनका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे।

उनले अहिले राजनीति जनसेवाभन्दा पनि सत्ता प्राप्तिको माध्यम बन्दै गएको भन्दै त्यसले राजनीतिको मूल उद्देश्यलाई विचलित बनाएको बताए।

पार्टी स्थापना गर्ने संस्थापक नेताहरूले सत्ता वा शक्तिको आकांक्षा नभई नागरिक र मानव सेवाको भावनाबाट काँग्रेसको स्थापना गरेको स्मरण गराउँदै थापाले अहिले पनि त्यही आदर्शलाई पुनर्जीवित गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति : श्रावण १६, २०८३ शनिबार  ६ : २७ बजे