काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशैभर खाना पकाउने एलपी ग्यासको चरम अभाब भएको छ । निगमले यसअघि आधा भरिएको सिलिन्डर दिँदै आएकामा दुई साताअघिदेखि पूरै भरिएको अर्थात् १४.२ किलो भरिएको सिलिन्डर दिन थालेदेखि काठमाडौँ उपत्यकासहित देशैभर ग्यासको अभाब सूरु भएको हो ।
नेपाल आयल निगमले अभाब नभएको र नियमित भइरहेको बताए पनि जताततै अभाब भएको हो । अचानक खाना पकाउने ग्यासको अभाव देखिएपछि नेपाल आयल निगम आफैँले शनिवारदेखि टेकुमा खुद्रा ग्यास वितरण सुरू गरेको छ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आधा सिलिन्डरबाट भरि सिलिन्डर अर्थात् १४।२ किलोग्राम ग्यासको वितरण सुरू भए लगत्तै बजारमा ग्यासको अभाव देखिएको छ।
यसअघि ७.१ किलोग्राम ग्यास वितरण गरेपछि बजारमा ग्यासको आपूर्ति सहज भएको थियो तर भरि सिलिन्डरमा गएपछि बजारमा एक खालको झट्का देखिन्छ। उनले भने, बजारमा एक्कासि माग बढ्दाको झट्का हो यो। एउटा चक्र पूरा भएपछि हप्ता १० दिनभित्र सहज भएर जान्छ।
भारतीय आयल निगमले आवश्यक ग्यास आपूर्ति दिन सक्ने सुनिश्चितता गरे पछिमात्रै भरि सिलिन्डर ग्यास दिने निर्णयमा आफूहरू पुगेको निगमका प्रवक्ता ठाकुरले बताए। त्यसकाण अहिलेको अभाव लामो समय नजाने निगमको दाबी छ।
ग्यास उद्योग सङ्घले पनि यसअघि आधा सिलिन्डर ग्यास बजारमा जाँदा पर्खेर बसिरहेका उपभोक्ताहरू भरि सिलिन्डर पाइन थालेपछि एकै पटक ग्यास भर्न आउँदा ग्यासको माग धान्न नसकिएको बताएको छ।
नेपाल ग्यास उद्योग सङ्घका उपाध्यक्ष धर्मराज बर्तौलाले पनि एकै पटक उपभोक्ताहरूको चाप एउटा कारण भएको बताए। निगमले ७।१ किलोग्राम ग्यास दिएर १४.२ दिनका लागि तीन महिना समय लगाइदियो। त्यसो गर्दा यो बीचमा भारतीय आयल नियमबाट हामीले जति ग्यास उठाउन पाउँथ्यौँ त्यो उठाउन पाइएन उनले भने।














