राष्ट्रियसभाः विपद् व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण



काठमाडौँ, भदौ १ । राष्ट्रियसभाका सदस्यहरुले भारी वर्षाका कारण देशका विभिन्न भागमा जनधनको अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै सडकमार्ग तथा विपद् व्यवस्थापनमा ध्यान दिइ प्रभावित जनतालाई अविलम्ब राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले रोल्पा, जाजरकोटलगायतका जिल्लामा पहिरो र चट्याङका कारण भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाको व्यवस्था गर्न अनुरोध गरे ।

नेकपा (एमाले) की राजेन्द्रलक्ष्मी गैरेले भारी वर्षाका कारण मुलुकभर प्रभावित जनताको उद्धार र राहतमा सरकारको पर्याप्त ध्यान जान आवश्यक छ भने । उनले नवलपरासीको सुस्ता क्षेत्र अहिले डुबानमा परेको उल्लेख गर्दै प्रभावित स्थानीय बासिन्दाको तत्काल उद्धार गर्न माग गरे ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनारले विपद्का कारण मुलुकका धैरै भूभागको जनजीवन र यातायात प्रभावित भएको भन्दै प्रभावित जनताको जनजीवन सहज बनाउन सरकारको ध्यानार्कषण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाढीपहिरोलगायत विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापित परिवारलाई राहत उपलब्ध गराउन माग गरे ।

यसैगरी, नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार र सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै बाढीपहिरो, डुबानको समस्या यथासक्य छिटो समाधान गर्न सम्बन्धित पक्षको ध्यानाकषर्ण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद प्रेमप्रसाद दङ्गालले बहुदलीय प्रजातन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारीलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भइ नेपाली जनताको जीवनस्तरमा सधार आएको तथ्य भुल्न नहुने धारणा व्यक्त गरे । रासस

प्रकाशित मिति : भाद्र १, २०८३ सोमबार  ४ : २० बजे