काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मंसिर पछाडी लैजान नमिल्ने बताएका छन् । स्व. प्रदीप गिरिको स्मृतिमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
शर्माले मंसिरभन्दा पछाडी महाधिवेशन लैजाने संवैधानिक तथा कानुनी आधार कांग्रेससंग नरहेको दाबि गरे। उनले भने, ‘मंसिरभन्दा उता जान पाउने सुविधा हामीलाई छैन । त्यसैले सम्मानित सर्वोच्च अदालतमा बसेर न्यायमुर्तीहरूले आफ्नो कलम चलाउँदै गर्दा नेपाली कांग्रेसको असोज १६ मा सुरु हुने महाधिवेशनको प्रक्रिया त्यो समयमा सुरु भएन भने मंसिरभन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिकता उपर गम्भीर प्रश्न उब्जिन्छ ।यो विषयलाई मलाई लाग्छ हाम्रा श्रद्धेय नेताहरूले स्मरण गर्नुहुन्छ । ख्याल गर्नुहुन्छ । मिडियाका साथीहरूले ख्याल गर्नुहुन्छ । न्यायमुर्तीहरूले ख्याल गर्नुहुन्छ ।’
उनले महाधिवेशन रोक्नुभन्दा संवादमार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने भन्दै काँग्रेसभित्रको विवाद समाधानका लागि आफूहरु तयार रहेको बताए ।
असन्तुष्ट पक्षलाई अदालत जाने अधिकार भएपनि सकेसम्म पार्टी भित्रै विवाद मिलाउनुपर्नेमा जोड दिदै शर्माले अदालत जानुभन्दा पार्टी कार्यालयमा आएर संवाद र सहमतिको बाटो रोज्न असन्तुष्ट नेताहरुलाई आग्रह गरे।









