कृषि उत्पादन बढाउँन विभिन्न बालीका करिब नौसय उन्नत जात विकास



काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब नौसय उन्नत जातहरू विकास गरेको छ। परिषद्ले धान, मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्नबाली, दलहन, तेलहन, आलु, तरकारी, फलफूल तथा कन्दमूल बाली उन्मोचन गरेको हो।

विभिन्न भौगोलिक हावापानी (तराईदेखि उच्च पहाडसम्म) सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषद्का प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिए। उनका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत कार्य गर्दै आएको परिषद्ले कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ।

विभिन्न बाली वस्तुका जातरनश्ल तथा उत्पादन प्रविधि विकास गर्न कृषि अनुसन्धान कार्यक्रममार्फत कृषि क्षेत्रका समस्या निराकरणका उपाय पत्ता लगाउने र कृषिसम्बन्धी नीति तर्जुमाका लागि सरकारलाई परिषद्ले आवश्यक सहयोग गर्दै आएको जनाइएको छ।

कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण, आयात प्रतिस्थापन र समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा कृषि अनुसन्धानले योगदान पुर्‍याएको परिषद्का प्राविधिक अधिकृत अधिकारीले जानकारी दिए। रासस

प्रकाशित मिति : भाद्र ६, २०८३ शनिबार  ६ : ३३ बजे