काठमाडौं । प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकामा सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योगमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिजपदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरे।
ती प्रस्तावलाई पनि सभाले सर्वसम्मत स्वीकृत गरेको थियो।
प्रतिनिधिसभाको अर्को बैठक भोलि भदौ ९ गते मंगलबार अपराह्न १ बजे बस्नेछ। रासस









