काठमाडौं,भदौ ११ । अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् ।
प्रहरी प्रधान कार्यालय तथा ट्राफिक प्रहरीले बिहीबार बिहान अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द गरिएको जनाएको छ ।
विशेषगरी काठमाडौँलाई तराई र पश्चिम नेपालसँग जोड्ने लाइफलाइन मानिने नागढुङ्गा–मुग्लिङ सडक खण्डमा बाढीको उच्च जोखिम रहेकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।
यस्तै, बाढीपहिरो जोखिमयुक्त पहाडी सडकहरूमा दुर्घटना हुन नदिन प्रशासनले बीपी राजमार्ग, कान्तिलोकपथ र टोखा–छहरे खण्डमा रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक खण्ड बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागढुङ्गादेखि मुग्लिङसम्मको सडकमा दुवैतर्फबाट सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ । बीपी राजमार्ग पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्भावित बाढी र जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । उक्त सडक खण्ड मौसम र सडकको अवस्था हेरेर मात्र सवारी चल्न दिइने बताइएको छ ।
हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म ९रातको समयमा० सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।
रसुवा ९त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी खण्ड० अन्तर्गतको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ । यो सडक खण्ड लामो समय अवरुद्ध रहने जनाइएको छ । साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि पूर्ण बन्द छन् ।
शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा जोखिम रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । नुवाकोटका मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ ।
यस्तै, ईलाम नगरपालिका–९ राजदुवालीस्थित झापा–ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस सडक खण्डमा यात्राका लागि वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रहरी प्रशासनले बाढीपहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरी र रातको समयमा यात्रा नगर्न तथा सम्बन्धित प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।









