देउवा र खड्काको माग अनुसार कांग्रेसको १५ औं महाधिवेशन रोक्न सर्वोच्चले दिएन आदेश



११ भदौ, काठमाडौं । सर्वोच्च अदालत नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको माग अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्नु नपर्ने ठहर गरेको छ ।

सर्वोच्च का न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखेरलको इजलासले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पुरक निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले देउवा र खड्काको निवेदनमा अन्तरिम आदेश नभएको बताए। उनले भने, ‘पुरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग थियो। तीन सदस्यीय पूर्ण इजलासले त्यो मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।’

सर्वोच्चको आदेशसँगै अब कांग्रेसले महाधिवेशन निर्वाधरुपबाट अघि बढाउन सक्नेछ ।

नेपालि कांग्रेसले आगामी असोज १६-१९ गते १५औं महाधिवेशन गर्ने गरी गतिविधि अघि बढाइसकेको छ।

प्रकाशित मिति : भाद्र ११, २०८३ बिहीबार  ६ : ५७ बजे