त्रिशूली–३ ‘ए’ सुरुङको ड्रिलिङमा आंशिक सफलता ,सुरुङभित्र क्यामेरा र अक्सिजन पठाइयो



काठमाडौँ, भदौ १४ गते । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।

आइतबार बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मीको टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेरअघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान भएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।

‘क्राउन’ पहिचान भएपछि सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने कार्य सुरु गरिएको बताइएको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउन यो प्रयास महत्त्वपूर्ण मानिएको छ ।

उद्धार टोलीले ड्रिलिङबाट बनाइएको प्वालमार्फत अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ ।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बिच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : भाद्र १४, २०८३ आईतबार  ८ : १९ बजे