काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढी तथा लगातारको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा र सडक भासिँदा देशका प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार प्राकृतिक विपद्का कारण यातायात आवागमन ठप्प बनेको छ।
प्रहरीका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेर सडक भासाएका कारण मानिससमेत हिँडडुल गर्न नसक्ने गरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभिर क्षेत्रमा पनि बाढीले सडकको तल्लो भाग बगाएर भासिएपछि सो खण्डमा यातायात पूर्ण रूपमा बन्द भएको छ।
यसैक्रममा, मुगु जिल्लाबाट गमगढी जोड्ने सडक पनि अविरल वर्षाका कारण आएको पहिरोका कारण अवरुद्ध बनेको छ। त्यसैगरी, ओखलढुङ्गा जिल्लाको सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ६ र ७ लाई जोड्ने सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसका साथै, लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँसीसहर–मनाङ सडक पनि बाढी र पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।









