विपत्तिमा लड्नुको विकल्प छैनः प्रधानमन्त्री बालेन



काठमाडौं , भदौ १७ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्याएको बताए ।

उनले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री शाहले भने, ‘भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई हामीबाट खोसेर लग्यो । यो अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

उनले विपद्बाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षति ती जिल्लाको मात्र नभई सिंगो देशको साझा पीडा भएको बताए ।

‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,’ उनले भने ।

प्रधानमन्त्री शाहले संकटका बेला नेतृत्वले निराशा होइन, जनतालाई हिम्मत र भरोसा दिनुपर्ने बताए । विपद्को समयमा थकान र पीडाका कारण विश्राम लिने अवस्था नरहेको उल्लेख गर्दै उनले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।

‘शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा विलाप गर्ने समय छैन । संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत र आड–भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ, त्यसैले दृढ संकल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन । हामी लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने ।

उनले विपत्तिको सामना गर्न दृढ संकल्प र साहसका साथ अघि बढ्नुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : भाद्र १७, २०८३ बुधबार  १ : ४० बजे