काठमाडौँ । भोटेकोशी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले गत भदौ १० गतेको बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको छ। बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा बेलिब्रिज र १० वटा झोलुङ्गे पुल बगाएको छ।
बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका आठ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ५ मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७।३ मेगावाटको त्रिशूली ३ ‘बी’ मा क्षति पुर्याएको छ।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ भने थप मद्दतका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञसमेत प्रभावित क्षेत्रमा खटिएका छन् भनी जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
हालसम्म बाढीमा परी एक हजार ३६५ रसुवाली नागरिक, एक हजार १२० अन्य जिल्लाका नागरिक र २६४ पर्यटक सम्पर्कविहीन भएका छन्। यसैगरी बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी, ७९ जना सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ जना नेपाल प्रहरी र २७ नेपाली सेना हराइरहेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए। प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न आपूर्ति सहज बनाउन हेलिकप्टरमार्फत राहत वितरण भइरहेको छ।









