काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयास तीव्र बनेको छ। यही क्रममा सभापति गगन थापा र नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
पार्टीभित्र १५औँ महाधिवेशनको तयारी, क्रियाशील सदस्यता तथा नेतृत्व र संगठन व्यवस्थापनका विषयमा विवाद भइरहेका बेला थापा र कोइरालाबीच भेटवार्ता भएको हो। पछिल्लो समय दुवै पक्षबीच संवाद बढेसँगै कांग्रेसभित्र सहमतिको वातावरण बन्ने सम्भावना देखिएको छ। शेखर कोइरालानिकट नेताहरूको ठूलो हिस्सा पनि थापासँगै एकताको पक्षमा रहेको कोइरालानिकट एक नेताले न्यु सञ्चारलाइ बताए ।
भेटका क्रममा नेता कोइरालाले मुलुकको वर्तमान अवस्था, लोकतन्त्र र राष्ट्रियतासमेत चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै कांग्रेस विभाजित भएर अघि बढ्न नसक्ने धारणा राखेका थिए। उनले पार्टीलाई एकढिक्का बनाउन आवश्यक परे आफू जुनसुकै त्याग गर्न तयार रहेको सन्देश दिएका छन्।
कोइरालाले पार्टी एकताका लागि १५औँ महाधिवेशनमा क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नबनाउने, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा महाधिवेशन गर्ने र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति तथा विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गर्ने प्रस्ताव अघि सारेका छन्।
सभापति थापा पनि पार्टीभित्रको विवाद समाधानका लागि संवाद र सहमतिको बाटोमा अघि बढ्न सक्रिय देखिएका छन्। उनले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि ‘वान टु वान’ भेटवार्ता गरेका थिए। उक्त भेटमा खड्काले १५औँ महाधिवेशनमा सबै क्रियाशील सदस्यलाई सहभागी हुने वातावरण बनाउनुपर्ने तथा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई समेत समेट्नुपर्ने धारणा राखेका थिए।
पछिल्लो समय सभापति थापाले शेखर पक्षसँग पनि अनौपचारिक संवाद अघि बढाएका थिए। शेखर पक्षका नेताहरूमार्फत भएको छलफल सकारात्मक बनेपछि दुई नेताबीच प्रत्यक्ष भेटवार्ताको वातावरण बनेको बताइएको छ ।
महाधिवेशनको कार्यतालिका प्रभावित हुन सक्ने
कांग्रेसभित्रको विवाद समाधानका लागि अन्तिम प्रयास भइरहेकाले १५औँ महाधिवेशनअन्तर्गत तय गरिएको वडा अधिवेशनसमेत केही समय सार्ने तयारी भएको छ। सहमति जुटेमा महाधिवेशनको बाँकी कार्यतालिकामा समेत आवश्यक संशोधन हुन सक्ने संकेत कांग्रेस नेताहरूले दिएका छन्।
पछिल्लो समय कांग्रेसका विभिन्न पक्षबीच संवादको क्रम बढेकाले पार्टीभित्रको विवाद सहमतिबाट समाधान हुने सम्भावना देखिएको छ। गगन–शेखर भेटवार्तालाई यही प्रयासको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।
खड्का–शेखर गगनसँग नजिकिँदा देउवा पक्षमा बढ्यो दबाब
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला पार्टी सभापति गगन थापासँग संवाद र सहकार्यतर्फ अघि बढेपछि पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने दबाबमा परेको देखिएको छ।
देउवा पक्षका केही नेताहरू छुट्टै पार्टी निर्माणको बहसमा रहे पनि खड्का र कोइराला पार्टी विभाजनको पक्षमा नरहेको अवस्थामा देउवा पक्षभित्रै एकताको पक्षमा दबाब बढ्न सक्ने देखिन्छ।
कांग्रेसभित्रको समीकरणमा खड्का र कोइराला थापा नेतृत्वसँग नजिकिँदै गएमा देउवा पक्षको संगठनात्मक शक्ति कमजोर हुनसक्ने आकलन हुन थालेको छ।
विशेषगरी नेता शेखर कोइराला पछिल्लो समय थापा र देउवा–खड्का पक्षबीच मध्यस्थ भूमिकामा देखिएका छन्। सर्वोच्च अदालतको फैसलापछि उनले आफूलाई समानान्तर गतिविधिबाट टाढा राख्दै पार्टी एकताका लागि संवादको बाटो रोजेका छन्।









