सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की



काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र परिवर्तनका लागि आ(आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छन्।

‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्दोष नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गरेकी छन्।

देशको इतिहासमा आजकै दिन एउटा पीडादायी घटना भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा कयौँ युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपरेको र निजी तथा सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएको बताएकी छन्।

राष्ट्रको जीवनमा लागेको यो घाउ कहिल्यै नपुरिने भन्दै उनले अब यस्ता दुःखद दिन कदापि दोहोरिन नहुनेमा जोड दिएकी छन्।

सुशासन कायम नभए संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने स्पष्ट सन्देश सो आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको उनले स्मरण गराएकी छन्।

राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने भएकाले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी कदम चलोस् भन्ने अपेक्षा उनले व्यक्त गरेकी छन्।

आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी उनले आन्दोलनको एक वर्ष नपुग्दै मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन्।

विपद्को यस दुःखद् घडीमा अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ एकअर्काको सहारा बन्दै ऐक्यबद्ध भएर सामना गर्न पनि उनले सबैसँग अपिल गरेकी छन्।रासस

प्रकाशित मिति : भाद्र २३, २०८३ मंगलबार  ११ : ३७ बजे