काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीबाट नभई सल्लाहकार र सचिवालयबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको दाबी गरे ।
उनले सरकार संविधानको मर्मविपरीत सञ्चालन भइरहेको आरोप लगाउँदै नेपालको संसदीय प्रणालीमा प्रधानमन्त्रीय शासन व्यवस्था भए पनि व्यवहारमा ‘सल्लाहकारको शासन’ देखिएको बताए ।उनले भने, “हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ । यो संविधानको कुन दफामा छ ? कुन ऐनमा छ मैले बुझ्न सकेको छैन ।”
सिंहले प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि पटक–पटक दबाब दिने गरिएको आरोपसमेत लगाए । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर रेड नोटिस जारी गर्न दबाब दिइएको र प्रहरी नेतृत्वलाई समेत अपमानित गरिएको उनको दाबी थियो ।
सरकारको केन्द्र सिंहदरबारमा हुनुपर्नेमा ‘ज्वागल’ पुगेको टिप्पणी गर्दै उहाँले हुकुमी शासन चलिरहेको आरोप लगाए ।
“सरकारका केन्द्र मैले सिंहदरबार बुझ्या थिएँ, तर सरकारका केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ,” उनले भने ।










