काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति सरकार र अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण गराएक िछन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद कार्कीले प्रसव पीडामा रहेकी महिलालाई तत्काल अस्पतालमा भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्नेमा अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद् र गम्भीर विषय भएको बताइन् ।
सांसद कार्कीले प्रसव पीडामा रहेकी महिलालाई अस्पतालले तत्काल भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्ने बताइन् । उनले अस्पताल प्रशासनले समेत बिरामी अस्पतालबाट कहिले र कसरी बाहिरिइन् भन्ने जानकारी नभएको जवाफ दिनु गम्भीर विषय भएको बताइन् ।
‘संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौँ, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक लेख्यौँ । तर कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले पाउने वास्तविक व्यवहारिक सेवाबीच यति धेरै दूरी किन ?’ उनले प्रश्न गरिन् ।
प्रसव पीडामा रहेकी महिलालाई अस्पतालले ‘तपाईं कतै नजानुस्, तपाईंको घर खुलेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौँ’ भनेर सुरक्षित वातावरण दिनुपर्ने भए पनि त्यस्तो व्यवस्था भयो कि भएन भन्ने प्रश्नसमेत उनले उठाइन् ।
‘अस्पतालले हामीलाई जानकारी नै छैन, कुन बेला बिरामी निस्किएर गयो भनेर भन्न पाउँछ ?’ उनले प्रश्न गरिन्।
सांसद कार्कीले बबिता पासवानजस्ता प्रसव पीडामा रहेका सबै महिलासम्म राज्यको स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुग्नुपर्ने बताउँदै सुरक्षित मातृत्वको अधिकार कागजमा मात्रै सीमित नराख्न सरकारको ध्यानाकर्षण गराइन् ।










