काठमाडौँ, भदौ २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई, सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकारसमक्ष माग राखेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मीक समयमा बोल्दै सांसद कार्कीले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आउनुभएकी गर्भवती बबिताकुमारी पासवानलाई अस्पतालले बेवास्ता गरेपछि सडकमै बच्चा जन्माउनुपरेको घटनाबारे सरकारसमक्ष ध्यानर्कषण गराएका हून् । उनले अस्पतालमा आएकी प्रसव पीडामा छट्पटाइरहेकी महिलालाई अस्पतालले तुरुन्तै भर्ना गर्नुपर्ने बताए । यस्तो घटना अब दोहोरिन नदिन र अस्पतालले बबितामाथि गरेको अमानवीय व्यवहारप्रति छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे ।
सांसद कार्कीले अस्पतालहरुमा ‘नो डिनायल इन लेवर’ नीति तुरुन्तै लागू गराउनुपर्ने समेत बताए। उनले आमा सुरक्षा कार्यक्रममा ‘फ्रि डेलिभरी’ कार्यक्रम खाली बच्चा जन्माउने काममा मात्रै नभई गर्भवती भएपछि बच्चा जन्माउनेसम्मको समग्र प्रक्रियामा आमा सुरक्षा कार्यक्रम निःशुल्क व्यवस्था राज्यले गर्नुपर्ने बताए ।
आमा सुरक्षा कार्यक्रम निःशुल्क सेवा प्रदान कार्यक्रमलाई राज्यले विशेष दायित्वका साथ कार्यान्वयन गर्नुपर्ने सांसदहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताए ।
यसैगरी, आकस्मीक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रेनुका काउचा र जयपति रोकायाले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत, पुनःस्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
रास्वपाका सांसद राजन गौतमले विपद् जोखिम कम गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । उनले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी फलाम खानी क्षेत्रमा धुवाँ निस्किरहेको भन्दै सम्भावित जोखिमप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराए । रासस










