एसीसी प्रिमियर कप : नेपाल बन्यो उपाधि बिजेता, फाइनलमा यूएईमाथि ४४ रनको जित



काठमाडौँ । एसीसी प्रिमियर कप २०२६ को उपाधि नेपालले जितेको छ । फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

उपाधिसँगै नेपाल एसिया कपमा छनोट भएको छ ।

मलेसियाको बायुमास मैदानमा भएको खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनायो ।

नेपालका लागि आसिफ शेखले शतकीय इनिङ्स खेले । उनले १०६ बलमा ४ छक्का र ८ चौकाको मद्धतले १०२ रन बनाए । पहिलो विकेटका लागि आसिफसँग मिलेर ९७ रनको साझेदारी गर्ने क्रममा अर्जुन कुमालले रनआउट हुनुअघि ४३ रन जोडे ।

त्यस्तै गुल्शन झाले ३८ बलमा ५२ तथा निवर्तमान कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ४० रन बनाए । बसिर अहमदले ४ बलमा अविजित रहँदै १५ रन जोडे ।

जवाफक्मा यूएईले ४९ ओभर १ बलमा अलआउट हुँदै २६९ रनमात्र बनाउन सक्यो । राहुल चोपराले १०५ बलमा अविजित रहँदै सय रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

त्यस्तै सोहेम खानले ५२ तथा तानिश सुरीले ४२ रन जोडे ।

नेपालका लागि करण केसीले ३ तथा ललितनारायण राजव‌ंशीले २ विकेट लिए । रोहित पौडेल, बसिर अहमद र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

सेमिफाइनलमा ओमानमाथि ८७ रनको सनसनीपूर्ण जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको थियो । त्यस्तै यूएईले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रकाशित मिति : भाद्र २७, २०८३ शनिबार  ७ : ३२ बजे