काठमाडौँ। नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृहमा फसेकाहरूको उद्धार र खोजी कार्यलाई उच्च प्राथमिकता दिएको छ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले दिएको जानकारी अनुसार रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरी खोजी कार्य जारी राखिएको छ।
चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ साँघुरो हुँदा हेलिकप्टरबाट डोजर झार्न सम्भव नभएपछि वैकल्पिक रूपमा पहुँच सडक निर्माण गर्नुपरेको हो। बाढीले ल्याएको बाक्लो लेदो पन्छाउन सेनाको उद्धार टोली २४सै घण्टा खटिएको छ।
यसैगरी, माथिल्लो त्रिशूली–१ बाट हालसम्म चारवटा शव सङ्कलन गरिएको छ भने त्रिशूली–३ ुबीु र चिलिमे आयोजनालाई केन्द्रित गरेर उद्धार प्रयासहरू भइरहेका छन्। त्रिशूली–३ ुबीु मा मात्र एक सयभन्दा बढी सैनिक फौज उद्धारमा परिचालन गरिएको सेनाले जनाएको छ। त्यस्तै, चिलिमे आयोजनाको सुरुङमा नेपाली सेना र भारतीय उद्धारकर्मीको संयुक्त टोलीले समन्वय गरी उद्धार कार्य अगाडि बढाइरहेको छ।










