काठमाडौँ। अस्पतालको सघन उपचार कक्ष ‘आईसीयू’ भित्रै बिरामीको अन्तर्वार्ता लिइएको विषय प्रतिनिधि सभामा उठेको छ।
प्रतिनिधि सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ की सांसद समीक्षा बाँस्कोटाले आईसीयूजस्तो संवेदनशील स्थानमा अन्तर्वार्ता लिने र त्यसका लागि अनुमति दिने कार्यको नैतिकतामाथि प्रश्न उठाएकी हुन्।
उनले आईसीयू गम्भीर तथा जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएकाले त्यहाँ बिरामीको स्वास्थ्य सुरक्षा, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताइन्।
उपचाररत बिरामीमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिने कार्यले बिरामीको संवेदनशीलता र अस्पतालको उपचार प्रणालीप्रति गम्भीर प्रश्न खडा गर्ने उनको भनाइ थियो। अन्तर्वार्ता लिन अनुमति दिने पक्षले समेत यस्तो विषयमा जिम्मेवारीपूर्वक सोच्नुपर्ने उनले बताइन्।
‘मानिसको जीवनभन्दा ठूलो कुनै पनि कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज हुन सक्दैन’ भन्ने धारणा राख्दै सांसद बाँस्कोटाले मानव जीवनलाई टीआरपी वा भ्युजसँग तुलना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्।
उनले आईसीयूमा उपचाररत बिरामीलाई अनावश्यक हैरानी नहुने व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन्।











